बालबच्चालाई उपहारमा के दिने ?

0

बालबालिकाले जब कुनै राम्रो काम गर्छ, तब उनीहरुलाई थप प्ररणा दिन उपहार दिने गरिन्छ । परिक्षामा उत्कृष्ट अंक हासिल गरेमा वा कुनैपनि क्षेत्रमा प्रगति गरेमा उनीहरुलाई उपहार दिइन्छ। यसैगरी जन्मदिन, नयाँ बर्ष, क्रिसमस जस्ता विशेष अवसरहरुमा पनि उपहार दिने चलन छ ।

यसरी उपहार दिएपछि उनीहरु खुसी हुन्छन। खुसी मात्र होइन, उनीहरु राम्रो काम गर्न प्रेरित हुन्छन्। यद्यपि उनीहरुलाई कस्तो उपहार दिने रु कुन उपहार सही हुन्छ? उपहार छनौट गर्दा हामीले गर्ने एउटै गल्ती हो, उपहार हामी आफ्नो रुची र इच्छा अनुसार खरिद गर्छौं। अर्थात हामी आफुलाई जे मन पर्छ, त्यही कुरा उपहारको रुपमा दिने गर्छौं।

उपहार खरिद गरिरहँदा हाम्रो मनमा दुई किसिमको विचार आउँछ। एउटा विचार, अलि उपयोगी र काम लाग्ने किसिमको उपहार खरिद गरौं। अर्को विचार, यसो घरमा सजाउन मिल्ने किसिमको टिकाउयुक्त उपहार खरिद गरौं। यही विचारले हामी बच्चालाई पुस्तक उपहार दिन्छौं, पेन्टिङका सामाग्री उपहारमा दिन्छौं। यसैगरी घडी, गुडिया वा अरु किसिमको सजावटको सामाग्री उपहार दिन्छौं।

यी उपहारमध्ये कुनै हामीलाई ज्ञानवद्र्धक लाग्छ भने कुनै सजाउन मिल्ने किसिमको। बालबालिकालाई उपहार खरिद गर्नुअघि प्रश्न गरौं कि उनीहरुलाई किन उपहार प्रदान गरिदैछ? के उनीहरुले कुनै प्रगति गरेर देखाएका छन् ? जस्तो परीक्षामा राम्रो अंक हासिल गरेको छ । कुनै प्रतियोगिताबाट पदक जितेर आएका छन् । कविता वा कुनै रचना पत्रपत्रिकामा प्रकासित गरेका छन् । कुनै दुःखी, गरिबलाई मद्दत गरेर फुरुंग भएका छन् ।

यदि त्यसो हो भने हामी उनीहरुलाई अरु हौसला दिन चाहन्छौं । उनले गरेको काममा स्यावासी दिन चाहन्छौं । यसका लागि हामीले उनीहरुलाई प्रेरणा मिल्ने किसिमको उपहार दिन सक्छौं । जस्तो उनीहरुले के कुरामा प्रगति गरेका हुन्? संगीत प्रतियोगितामा पदक जितेका हुन् भने उनीहरुलाई कुनै वाद्ययन्त्र वा संगीत सम्बन्धी कुनै सामाग्री बढी उपयोगी हुन्छ ।

यदि कसैलाई उनीहरुले सहयोग गरेका छन् । हामी उनीहरुलाई उपहार दिएर स्याबासी दिन चाहन्छौं भने प्रेरक व्यक्तिहरुको पुस्तक उपहार दिन सक्छौं। यस्तो उपहार, जसले उनीहरुको काम, उन्नती र प्रयासलाई थप हौसला मिल्न सकोस् । हामीले आफ्नो रुची अनुसार होइन, बच्चाको रुची अनुसार उपहार दिनु राम्रो हो । उपहार पुस्तक हुँदैमा राम्रो हुन्छ भन्ने होइन ।

तर, एकछिन खेलाएर नष्ट हुने सामाग्रीको तुलनामा पुस्तक धेरै राम्रो हो । पुस्तक पनि यस्तो दिनुपर्छ कि, जुन उपयोगी र रोचक हुनुपर्छ । घरमा सजाएर राख्नका लागि भन्दा पनि उनीहरुले त्यसबाट केही सिकेर, बुझेर आफ्नो जीवनमा उपयोग गर्ने किसिमको हुनुपर्छ । बालबालिकालाई लक्षित गरेर प्रकासित गरिएको पुस्तक नै उनीहरुको लागि बढी उपयोगी हुन्छ । त्यस्ता पुस्तकबाट मनोरञ्जनसँगै ज्ञान पनि आर्जन गर्छन् ।

त्यस्तै कतिपय पुस्तक चाहि निकै जीवनोपयोगी हुन्छन् । अहिले उनीहरुले नबुझे पनि पछि पढ्न सक्छन् । त्यसलाई उनीहरुले अहिले संग्रह गरेर राख्न सक्छन् । विश्व चर्चित एवं दुर्लभ पुस्तक पनि उपहारमा दिन सकिन्छ । पुस्तक उपहार पाएपछि उनीहरुले खोल्छन्, हेर्छन् । पुस्तकप्रतिको लगाव बढ्छ । पठन संस्कृतिको विकास हुन्छ । यद्यपी धेरै बौद्धिक बनाउने चक्करमा पुस्तककै थुप्रो मात्र लगाउनु हुँदैन ।

खासगरी जन्मदिनको उपहारमा उनीहरुलाई फूल वा अन्य वनस्पतिको विरुवा पनि उपहारमा दिने चलन बसाउनुपर्छ। कतिपय वनस्पति, जो महत्वपूर्ण हुन्छ। यस्ता वनस्पति घरमै रोप्न सकिने भए अरु राम्रो । जब उनीहरुलाई वनस्पति वा फूलको विरुवा उपहार दिन्छौं, त्यसलाई उनीहरुले नै रोप्नुपर्छ। अर्थात रोप्ने व्यवस्था गरिदिनुपर्छ । यसबाट उनीहरुले पर्यावरणको रक्षा गर्नेदेखि प्रकृतिसँग नजिक हुनुपर्छ भन्ने गुणको विकास गर्छन् ।

उनीहरुले रोपेको वोट विरुवा जति झांगिदै र सप्रिदै जान्छ, उत्तिनै उनीहरुमा खुसी एवं उमंग पनि बढ्दै जान्छ । यसले एउटा संस्कारकै रुप लिन्छ । उपहार खरिद गर्दा मूख्य त बालबालिकाको रुचीलाई ध्यानमा राख्नुपर्छ। उनीहरु के कुरामा रमाउँछन्, कस्तो खेलौना चाहन्छन् रु त्यही अनुसार उपहार खरिद गरिदिनु राम्रो हुन्छ । यस्तो उपहार, जसलाई उनीहरुले भरपुर प्रयोग गर्न सकोस्। एकछिनमै रहर पुग्ने वा थन्को लगाउने किसिमको, सजाउने मात्र भन्दा पनि त्यसलाई प्रयोग गर्ने किसिमको हुनुपर्छ। खबर अनलाइनखबर

only mobile top

Leave A Reply

Your email address will not be published.