मान्छेमा तीन किसिमको दुःख कसरी उत्पन्न हुन्छ:

0

एउटा मोटरसाइकल किनेको मान्छेले केही दिन मोटरसाइकलमा यात्रा गरिसकेपछि कार चढ्ने अभिलाषा राख्छ। उसले व्यक्त गरोस् नगरोस् या आफ्नो क्षमतालाई हेरेर मनमा खेलेको कुरालाई भुलाउने प्रयास गरे पनि उसले आफूले मोटरसाइकलमा चढ्दा पाएको सुखलाई कार चढ्ने अभिलाषाका कारण मारिरहेको हुन्छ। जसले गर्दा मान्छे जहिलै दुःखी हुने गर्छ ।

हामी सामान्य मोबाइल चलाइरहँदा स्क्रिन टच मोबाइल बोक्ने इच्छा राख्छौं। स्क्रिन टच मोबाइल बोकेपछि हामीले आइफोन या त्यस्तै थप विलासी सामानको अभिलाषा राख्छौं। त्यो पूरा भयो भने हामीले फेरि त्योभन्दा ठूलो कुराको खोजी गर्छौं र पूरा भएन भने त्यसैमा चिन्तित भएर बस्छौं। तर यसरी सधैं दुःखको शृङ्खलालाई कहिलेसम्म पछ्याइरहने!

हामीले कहिले आफ्नै कारणले दुःख पाउँछौं भने कहिले अन्जात तरिकाले पनि दुःख पाउने गर्छौं। हामी हिँड्दै गर्दा बाटोमा दुर्घटनामा पर्छौं भने त्यो हाम्रो कारणले हुने गर्छ। तर ती सबैलाई पूर्वीय दर्शनले तीन किसिमको दुःखको रुपमा वर्गीकरण गरेको छ। पूर्वीय दर्शनको महत्वपूर्ण अंग मानिएको सांख्यले मान्छेको जीवनमा आउने त्रिविध दुःखको परिकल्पना गरेको छ। त्यही तीन किसिमको दुःखको अत्यन्ताभाव अर्थात् निवारण नै प्राणीमात्रको मुख्य उद्देश्य हो भन्ने सो शास्त्रको मान्यता छ।

सांख्यको मतानुसार तीन किसिमको दुःख आधिभौतिक। आधिदैविक, आध्यात्मिक, आधिभौतिक दुःख हामी बाटोमा हिँड्दै गर्दा कतै केही दुर्घटना भयो, हामीलाई कतै वन्यजन्तु लगायतले आक्रमण गरेर दुःख उत्पन्न गराइरहेको हुन सक्छ। यस्तै वाह्य कारणले हाम्रो शरीरमा हुने दुःख आधिभौतिक दुःख हो । त्यस्ता वाह्य कारणले हामीमा एउटा नयाँ दुःखको सिर्जना गर्छ। यो मात्रै आधिभौतिक दुःख होइन, हाम्रो शरीरले भोग्ने सबै किसिमका दुःखहरु आधिभौतिक दुःख अन्तर्गत् गर्छ।

आधिदैविक दुःख, कहिले अतिवृष्टि हुन्छ त कहिले अनावृष्टि हुन्छ। कहिले असिनाले सबै बालीनाली सखाप कनाइदिन्छ त कहिले चट्याङ परेर मान्छेको जीवन नै हरण भइरहेको हुन सक्छ। यी कुनै पनि विपत्तिहरु हाम्रो वशमा छैन र यसलाई हामीले दैवीप्रकोपको रुपमा लिन्छौं। यसैबाट उत्पन्न दुःखलाई नै हामीले आधिदैविक दुःखको रुपमा लिने गर्छौं।

आध्यात्मिक दुःख, जुन दुःख शरीरभित्र नदेखिने गरी उत्पन्न हुन्छ, त्यसलाई आध्यात्मिक दुःखको रुपमा मान्ने गरिन्छ। ईष्र्या, द्वेष, लोभ, मोह, क्लेश, रोगादि दुःख हाम्रो आध्यात्मिक दुःखभित्र पर्छ। यसको समाधानको लागि हामीसँग चिन्तन र दर्शनको साधनाको विकल्प छैन। हामी हिजोआज आधुनिक दुनियाँमा रमाउने गरेका छौं। विज्ञानले हाम्रो जीवनलाई सहज बनाएको छ। हामी सारा विश्वलाई एउटा आँगनको रूपमा घरमै बसीबसी देख्न सक्छौं ।

तर त्यसले हामीलाई खुसी दिन सक्छ त यस्ता प्रविधिले हामीलाई खुसी दिन सक्छ। तर यस्ता खुसीहरु क्षणिक हुन्छन्। जस्तो हामीलाई एउटा ठूलो मोबाइल बोक्ने इच्छा जारी हुन्छ। त्यो इच्छा पूरा नभएसम्म मनमा दुःख उत्पन्न हुन्छ। तर जब हामीले त्योभन्दा महँगो मोबाइल देख्दैनौं त्यतिबेलासम्म मात्रै हाम्रो खुसी बाँकी रहन्छ। अर्को त्योभन्दा राम्रो मोबाइल देख्नेबित्तिकै हामीमा आशक्ति सुरु भइहाल्छ।

त्यसैले हामीले क्षणिक सुख नभई दीर्घकालीन सुखको खोजी गर्नुपर्छ भन्ने मान्यता हो। त्यसको एउटै बाटो भनेको मुक्तिको बाटो हो । के यी तीनै दुःखलाई पुरुषार्थ गर्न सकिन्छ, समयको हिसाबले दुःख तीन किसिमको हुन्छ भूत, वर्तमान र अनागत भविष्य । केवल अनागत भविष्यको दुःखलाई मात्रै पुरुषार्थ निवारण गर्न सकिन्छ। किनकि भूत व्यतित भइसक्यो र वर्तमान केही समयमा नै व्यतित हुनेवाला छ।

त्यसैले यी दुवै स्वयं नाश हुने विषयलाई भुलेर केवल अनागत भविष्यको दुःखलाई मात्रै नाश गर्न सकिन्छ। सांख्य दर्शनले कारणको नाश हुनुले कार्यको समेत नाश हुने भन्दै दुःखको निवारणभन्दा पनि दुःख के कारणले उत्पन्न भएको छ रु त्यसको निवारणको उपाय सोच्नुपर्ने बताउँछन्। यसै सन्दर्भमा महर्षि पतञ्जलिले समेत भनेका छन् हेयं दुःखमनागतम्। अर्थात् दुःखको जरैदेखि निवारण गर्नको लागि हामीले अनावश्यक आशक्तिलाई दूर गर्नुपर्छ।

आफूसँग नभएको विषयलाई सोचेर अनावश्यक चिन्ता लिने होइन कि आशक्ति त्यागेर हिँड्नु आवश्यक रहेको बताइन्छ। दृश्यपदार्थ दुःखको दीर्घकालीन औषधि होइन सांख्यले दृश्य पदार्थ अर्थात् हामीले देखेको विषयलाई अनागत भविष्यको दुःखको दीर्घकालीन औषधि मान्दैन । उदाहरणको लागि हामी आगो या कपडाको सहयोगमा शितलाई भगाउने गर्छौं। हामीलाई न्यानो महसुस हुन्छ। तर आगो या कपडाबाट टाढा भएपछि फेरि चिसो सुरु हुन्छ ।

त्यसैले यी सबै दुःखका क्षणिक औषधिहरु हुन्। दर्शनले यही दीर्घकालीन सुखलाई मुक्तिको रुपमा मान्ने गर्छ। प्रत्येक बुद्धिमान मान्छेले दृष्ट पदार्थलाई छाडेर मोक्षको लागि प्रयत्न गर्नुपर्छ, यही नै मान्छेको उद्देश्य हो। सुख क्षणिक छ त्यसैले मोक्षमार्फत् दीर्घकालीन सुख पाउन सकिन्छ भन्ने मान्यता हो । सांख्य दर्शनले नै दुःख जीवको स्वभाविक गुण होइन भन्छ। किनकि जुन गुण स्वभावबाटै हुन्छ, त्यो गुणीबाट अलग हुन सक्दैन। दुःख जीवको स्वभाविक गुण होइन। अनलाइन खवर बाट साभार

only mobile top

Leave A Reply

Your email address will not be published.